काठमाडौं,२७ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आमचुनावलाई लक्षित गर्दै ‘प्रतिबद्धतापत्र’ आज सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र सार्वजनिक गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस र नेकपा (एमाले) पछि तेस्रो ठूलो दल बनेको थियो। सो निर्वाचनपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि घोषणापत्रमा उल्लेख गरिएका धेरै प्रतिबद्धता कार्यान्वयन हुन नसकेको आलोचना हुँदै आएको छ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रले ‘समृद्धिका लागि क्रमभंगता’ शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको थियो। त्यसमा सामाजिक न्यायसहित समावेशी विकास, राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा, उत्पादन र रोजगारी वृद्धि, तथा समाजवादउन्मुख आर्थिक नीति अवलम्बन गर्ने प्रतिबद्धता समेटिएको थियो।
घोषणापत्रमा न्यायपालिकाको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, घुस–भनसुन अन्त्य र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने जस्ता विषय उल्लेख थिए। तर माओवादी केन्द्रले करिब १९ महिना सरकारको नेतृत्व गर्दा यी प्रतिवद्धतामा ठोस प्रगति गर्न नसकेको जनगुनासो रहँदै आएको छ।
माओवादी केन्द्र, तत्कालीन नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूबीच एकता भई बनेको वर्तमान नेकपा अब एउटै झण्डामुनि चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। आज सार्वजनिक हुने प्रतिबद्धतापत्रले विगतका कमजोरीलाई कसरी सम्बोधन गर्छ भन्नेबारे चासो बढेको छ।



