काठमाडौं,२७ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै आफ्नै निर्वाचन क्षेत्रमा जनविश्वास गुमाएकाहरू नयाँ क्षेत्र खोज्दै हिँड्ने टिप्पणी गरेका छन्।
एक कार्यक्रममा बोल्दै ओलीले आफ्नै जिल्लाबाट चुनाव लड्न आँट नगर्ने नेताहरूको नियतमाथि प्रश्न उठाए। “आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन भने त्यसको अर्थ के हो ? काठमाडौँबाट जितिसकेको मान्छे फेरि त्यहीँबाट लड्न किन डराउँछ ? किन अर्कै क्षेत्रतिर जान खोज्छ ?” ओलीले प्रश्न गरे।
आफूले काम गर्न नसकेपछि अरू क्षेत्रमा सरेर राजनीतिक भविष्य खोज्नुपर्ने अवस्था आउने ओलीको भनाइ थियो। सोही क्रममा उनले झापाको गौरीगन्जसँग आफ्नो दीर्घ सम्बन्ध रहेको दाबी गर्दै २०२६ सालदेखि नै उक्त क्षेत्रमा संगठन निर्माणमा सक्रिय रहेको बताए। २०३० सालमा जेल परेपछि केही समय त्यहाँ जान नसके पनि २०४७ सालपछि निरन्तर सम्पर्कमा रहेको उनले उल्लेख गरे।
गौरीगन्जको विकासका सन्दर्भमा ओलीले विगत र वर्तमानको तुलना गर्दै अहिले ‘सेल्फी रोड’ भनेर चिनिने गौरीगन्जमा ठुलो परिवर्तन आएको दाबी गरे। साथै, हुलाकी राजमार्ग आफ्नो पहलमा अघि बढेको भन्दै अधिकांश पुल निर्माण सम्पन्न भइसकेको र बाँकी केही पुलका प्राविधिक समस्या समाधानको चरणमा रहेको बताए।
सामाजिक सुरक्षाका कार्यक्रमको चर्चा गर्दै ओलीले आफ्नै नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँसम्म पुर्याएको स्मरण गराए। तर बारम्बार सरकार परिवर्तन र कमजोर आर्थिक अवस्थाका कारण हाल भत्ता बढाउन नसकिएकोमा उनले दुःख व्यक्त गरे।



