रामेछाप,२७ माघ । रामेछापको मचानेटार क्षेत्रमा यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाका अनुसार दुर्घटनास्थलबाट थप ६ वटा शव फेला परेपछि कुल मृतकको संख्या १२ पुगेको हो। मृतकमध्ये ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान सडकबाट चिप्लिएर तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। बस नदीमा डुबेको अवस्थामा फेला परेको थियो।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। एक जना अन्य अस्पतालमा उपचाररत रहेको जनाइएको छ।
अरनिको यातायात समितिका अनुसार बसमा जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा यकिन हुन बाँकी छ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा घटनास्थलमा अझै पनि खोजी कार्य जारी रहेको सीडीओ थापाले जानकारी दिए।



