काठमाडौं,२७ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगको मंगलबार बसेको बैठकले तोकिएको समयसीमाभित्र घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न निर्देशन दिएको हो ।
२०८२ साल फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र स्वतन्त्र तथा दलका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
समयमै घोषणापत्र सार्वजनिक र दर्ता नगरे आचारसंहिता उल्लङ्घन मानिने आयोगले स्पष्ट पारेको छ ।



