बैंक कालोसूची हल्ला मात्र, विपक्षीको प्रचार हाे : रुपेश पाण्डे

spot_img

वीरगन्ज,०२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का युवा उम्मेदवार रुपेश कुमार पाण्डेले आफूविरुद्ध फैलाइएको बैंक कालोसूची सम्बन्धी आरोपलाई निराधार भएको बताएका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पार्दै आर्थिक तथा व्यक्तिगत विषयलाई चुनावी हतियार बनाइएको आरोप लगाए। उनले मतदातालाई तथ्यका आधारमा निर्णय गर्न आग्रह गर्दै राजनीति आरोप–प्रत्यारोपभन्दा नीति, दृष्टिकोण र कार्यक्रमको प्रतिस्पर्धा हुनुपर्ने बताए।

पाण्डे समर्थकहरूले पर्सा–३ मा देखिएको युवा सहभागिता र परिवर्तनको मागले परम्परागत राजनीतिक अभ्यासलाई चुनौती दिएको दाबी गरेका छन्। उनीहरूले नयाँ पुस्ताको नेतृत्वप्रति जनआकर्षण बढिरहेको बताएका छन्।

उता स्थानीय मतदाताहरूले चुनावी बहस व्यक्तिगत आरोपभन्दा विकासका मुद्दामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सुधारजस्ता विषयमा स्पष्ट योजना आवश्यक रहेको उनीहरूको अपेक्षा छ।

आगामी फागुन २१ गते हुने निर्वाचनले पर्सा–३ मा प्रतिनिधि चयनसँगै नयाँ नेतृत्वप्रति जनविश्वासको अवस्था पनि स्पष्ट गर्ने अपेक्षा गरिएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अन्तिम निर्णय मतदाताकै हातमा रहनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय