वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको अवस्था झन् मजबुत बन्दै गएको दाबी गर्दै एमालेका उम्मेदवार प्रदीप यादवले आफू १० हजारभन्दा बढी मतान्तरले विजयी हुने ठोकुवा गरेका छन्।
शनिबार जनकपुरमा नेकपा एमाले मधेस प्रदेश कमिटीद्वारा आयोजित मधेस प्रदेशभरका प्रतिनिधि सभा उम्मेदवारहरूको परिचयात्मक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको बताए।
पूर्वमन्त्रीसमेत रहेका यादवले विगतका निर्वाचन परिणाम स्मरण गराउँदै भने, “२०७४ को निर्वाचनमा करिब ५ हजार मतान्तरले जित हात पारेँ, २०७९ मा झण्डै १७ सय मतको अग्रतासहित विजयी भएँ। अहिलेको माहोल हेर्दा यसपटक १० हजारभन्दा बढी मतले जित्ने आधार स्पष्ट देखिन्छ।”
उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए। “पर्सा–१ मा अहिले एमालेको अवस्था एकदमै राम्रो छ। पार्टीका सबै नेताकार्यकर्ता एकजुट छन्। महानगरपालिकाका मेयर, जिल्ला समन्वय समितिका प्रमुख, महानगरका ७ वटै वडाका वडाध्यक्षसहित धेरै जनप्रतिनिधि एमालेमा प्रवेश गरिसक्नुभएको छ,” यादवले भने।
एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण पर्सा–१ मा चुनावी वातावरण पूर्ण रूपमा एमाले पक्षमा रहेको यादवको दाबी छ। यसले कार्यकर्ता तथा समर्थकहरूमा थप ऊर्जा र उत्साह थपिएको उनले बताए।
कार्यक्रममा पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे तथा पर्सा–४ का उम्मेदवार जालिम मियाँ मन्सुरीको समेत सहभागिता रहेको थियो।



