काठमाडौं,०७ फागुन । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ले संविधानको मर्म र भावनाअनुरूप राज्यको शासन व्यवस्था सञ्चालन गर्न ध्यान दिनुपर्नेमा जोड दिएकी छन्। प्रजातन्त्र दिवस–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले लोकतान्त्रिक मूल्य, मानव अधिकार र मौलिक हकको प्रभावकारी कार्यान्वयन नै सुदृढ लोकतन्त्रको आधार हुने उल्लेख गरेकी छन्।
उनले नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता गर्दै लोकतन्त्रका लाभ समतामूलक र समन्यायिक ढङ्गले वितरण गर्न आवश्यक रहेको बताएकी छन्। लोकतन्त्रमा नागरिकले निर्वाचनमार्फत आफ्नो अभिमत प्रकट गर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशलाई थप सुदृढ लोकतन्त्र र जनजीविकाका सवालमा प्रतिबद्ध नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन्।
उपाध्यक्ष घिमिरेले निर्वाचन प्रक्रियाप्रति सजग रहन पनि नागरिकलाई आग्रह गरिन्। “कतिपय अवस्थामा निर्वाचनबाट नै तानासाहको जन्म हुन सक्ने खतरा उत्तिकै रहन्छ, त्यसैले जनता सतर्क रहनुपर्छ,” उनले सन्देशमा उल्लेख गरेकी छन्।
उनले १०४ वर्षे निरंकुश राणा शासन अन्त्य गरी २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गर्ने ऐतिहासिक संघर्षमा योगदान दिने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिन्। जनताको बलिदान, त्याग र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत सार्वभौमसत्ता, स्वशासन र समावेशिताको अधिकार सुनिश्चित भएको उनले स्मरण गराइन्।
सन्देशमा वर्तमान संविधानले संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा सहभागितामूलक शासन व्यवस्था, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाजस्ता विशेषताहरू अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।
अन्त्यमा उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न लोकतान्त्रिक संस्कार आत्मसात् गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन्।

