जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र कुशासन र गरिबी हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस का सभापति थापाले बुधबार जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा सम्बोधन गर्दै यो लक्ष्य सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताए।
उनका अनुसार ‘टिम नेपाल’ अन्तर्गत वडादेखि केन्द्रसम्मका सबै तहका सरकार तथा विभिन्न राजनीतिक शक्ति मिलेर काम गर्नेछन्। “कुशासन र गरिबीविरुद्धको लडाइँ एक्लै सम्भव हुँदैन, साझा संकल्प र सहकार्य आवश्यक हुन्छ,” उनले भने। कांग्रेसले वर्तमान समस्या समाधान गर्दै देशलाई दीर्घकालीन विकासको दिशामा अघि बढाउने उनले दाबी गरे।
थापाले प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धताहरू सभापतिदेखि क्रियाशील सदस्यसम्म सबैले इमान्दारीपूर्वक पालना गर्ने बताएका छन्। उनले मधेस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै मधेसले अब देशलाई नयाँ दिशा दिनुपर्ने उल्लेख गरे।
“मधेसको शिक्षाले देशलाई शिक्षित बनायो, तर अहिले यही क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यावरण र खानेपानी समस्याले जर्जर अवस्थामा छ,” उनले भने। उखु किसानलगायत कृषकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
विदेशमा रहेका नेपाली युवाको सुरक्षालाई सुनिश्चित गर्न आवश्यक परे नयाँ दूतावास स्थापना तथा कर्मचारी व्यवस्थापन गर्ने योजना पनि उनले सार्वजनिक गरे। “देशका जुनसुकै क्षेत्रका नागरिक विदेशमा रहे पनि उनीहरूको हेरचाह गर्ने जिम्मेवारी सरकारले लिन्छ,” थापाले भने।
उनले मधेसलाई समृद्ध र उत्पादनमुखी बनाएर सिंगो देशलाई धान्न सक्ने सामर्थ्य प्रदान गर्ने कांग्रेसको लक्ष्य रहेकोसमेत उल्लेख गरे।

