सर्लाहीमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु

spot_img

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर र हरिपुर्वा नगरपालिकाको सीमाक्षेत्रमा करिब राति ८ बजे तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा हरिपुर्वा–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान राय गम्भीर घाइते भएका थिए।

घटनास्थलमा भारतीय नम्बर प्लेटका बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाही का सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए।

प्रहरी चौकी गौरीशङ्करबाट पुगेको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल पु¥याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा सामान्य घाइते भएका हरिपुर्वा–९ का २२ वर्षीय विक्रम राय र ४२ वर्षीय रामविश्वास रायको मोडेल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय