नेपालगञ्ज, २२ बैशाख — उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलाशमा कार्यरत नायब सुब्बा घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै नायव सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेका थिए ।
पाठकले घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थ्ति कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले पाठकलाई ३ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नायव सुब्बा पाठकलाई शनिबार चारबाहिनी चोकस्थित श्री लायर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।