काठमाडौं । पोखरामा माघ १ गते दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी जाँच आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यती एयरको ९ एन–एएनसी एटीआर–७२ विमान १०ः५७ मा सेती नदीको खोंचमा खसेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।
दुर्घटना जाँच आयोगले बुधबार वेबसाइटमार्फत सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेण्ड अघिमात्र पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।
सो प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट खतिवडा (पीएफ) ले १० बजेर ५७ मिनेट १८ सेकेन्डमा विमानको कन्ट्रोल पाइलट केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् भने १० बजेर ५७ मिनेट २० सेकेन्डमा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताएका थिए, त्यतिबेला विमान जमिनदेखि ३ सय ११ फिटमात्र माथि थियो ।’
दुर्घटनाका बेला सो विमान धावनमार्गको नजिक पुगिसकेको थियो । काठमाडौंबाट गएको सो विमान अवतरणका क्रममा पोखरा विमानस्थलमा मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला विमानका दुवै इन्जिनका ‘प्रोपेलरहरू’ फेदरमा गएको देखिएको छ । यस अवस्थामा विमान अघि बढ्न सक्दैन । सोही कारण सो विमान दुर्घटनामा परी सेती खोँचमा झरेको थियो ।
आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याएको हो ।
प्रतिवेदनको पूर्णपाठ :