बीरगन्ज,०९ चैत । नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीले देशकै आर्थिक राजधानी बीरगन्जमा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशकै पहिलो स्टोरका रुपमा भाटभटेनीले बिहिबारदेखि बीरगन्जमा आफ्नो २४ औँ शाखाका रुपमा स्टोर सञ्चालनमा ल्याएको हो ।
स्टोर बीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा बीरगन्ज हेल्थ केयर अस्पतालको छेउमै खुलेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले आजै एक कार्यक्रम बीच हिन्दू धर्म संस्कृति अनुसार पूजा गर्दै स्टोरको उदघाटन गरेका छन् ।
पर्सा, बारा, रौतहट र मधेश प्रदेशका अन्य जिल्लासँगै सीमावर्ती भारतीय शहरका उपभोक्तालाई समेत लक्षित गर्दै बीरगन्जमा जग्गा र स्टोर आकारको हिसाबले देशभरिकै ठूलो दे भाटभटेनी सुपर मार्केटको शाखा खोलिएको गुरुङले बताए ।
गुरुङनले देशको मूख्य औद्योगिक नगरी बीरगन्जमा भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । उनले, ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौँ । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।’
अध्यक्ष गुरुङले आफूले केवल व्यपारका लागि नभइ सेवाभावले देशभर शाखा विस्तार गरिरहेको बताए । उनले भने,‘ बीरगन्जमा पनि म व्यपार गर्न आएको होइन् । यहाँका उपभोक्ताले बजार मूल्य भन्दा केहि भएपनि सस्तोमा सामान पाउन भनेर सेवाभावले पनि यो शाखा विस्तार गरेको हुँ ।’
बीरगन्जपछि अब आगामी अषाढमा मधेशको केन्द्र जनकपुरमा र त्यसलगत्तै भदौंमा विर्तामोडामा पनि सेवा विस्तार गर्ने तयारी रहेको उनले बताए ।
भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्राईका अनुसार बीरगन्जमा सञ्चालनमा ल्याइएको सुपर मार्केट स्टोरको भौतिक संरचना र सामान सहितको लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
२ बिघा २ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भट्टराइले भने, ‘यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठूलो हो ।’