बीरगन्ज । बीरगन्जमा गाइको मासु विक्री हुने विज्ञापन राखेपछि चिकेन स्टेशर्न रेस्टुराँलाई बायकट गर्ने अभियान सुरु भएको छ ।
रेस्टुराँले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि बीरगन्जमा रेस्टुराँलाई बायकट गर्ने अभियान सुरु भएको हो । बीरगन्जमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न र रेस्टुराँलाई बायकट गर्ने अपिल गरिरहेका छन् ।
चिकेन स्टेशनले रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । हिन्दू धर्ममा देवी मानिएको तथा नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ विक्री भइरहेको रेस्टुराँले विज्ञापन राखेपछि युवाहरुले विरोधमा बायकट अभियान चलाएका हुन् ।
रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।
युवाहरुले रेस्टुराँको पोस्टलाई हिन्दू धर्ममाथि प्रहारको संज्ञा दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराँले भूलवस भनेर पन्छिन पाउँदैन’, सामाजिक सञ्जालमा एकजना युवक अमीत सर्राफले लेखेका छन्, ‘यो हाम्रो धर्ममाथि प्रहार हो । यसलाई सामान्य त्रुटी भनेर छोड्न मिल्दैन । रेस्टुराँको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ । सबैले मिलेर चिकेन स्टेशनलाई बायकट गरौँ ।’
यता जिल्ला प्रहरी कार्यालयले रेस्टुराँमा छापामारी गरेर त्यहाँबाट विभिन्न खाद्या सामग्री जफत गरेको छ । बिफ कबाब विक्री भइरहेको जानकारी पाए लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कोमल विक्रम शाहले रेस्टुराँमा छापामारी गर्दै त्यहाँ रहेका खाद्या सामग्रीको जाँच गर्न आदेश दिएका थिए । एसपी शाहका अनुसार छापामारीका क्रममा रेस्टुराँमा विज्ञापनमा भनिएको जस्तो बिफ कबाब अर्थात गाईको मासु फेला परेन ।