काठमाडाै,०४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उद्योग क्षेत्रको विकासले नै देशमा रोजगारी सिर्जना हुने बताएका छन्। बिहीबार छैटौं चेम्बर एक्स्पोको उद्घाटन समारोहमा श्रम मन्त्री भण्डारीले देशमा रोजगारी सिर्जना गर्न उद्योगधन्दाको विकास गर्नुपर्ने बताएका हुन्।
‘सरकारको मुख्य प्राथमिकता उद्योगको विकास हो,’ मन्त्री भण्डारीले भने, ‘यसले रोजगारी सिर्जना हुन्छ।’यस्ता व्यापारिक मेलाले वस्तुको माग र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले बताए।
सीप र प्रविधि साटासाट गर्न अन्तर्राष्ट्रिय मेला सहयोगी हुने उनको भनाइ छ। व्यापार घाटा घटाउन दीगो निर्यात हुन सक्ने वस्तुको उत्पादनमा लाग्न उद्योगीहरूलाई उनले आग्रह गरेका छन्।
‘हामी पाम ओयलको निर्यात बढ्यो भनिरहेका छौं। तर यो दीगो होइन,’ उनले भने। व्यापार घाटा कम गर्न सरकारले रणनीतिक योजना समेत बनाइरहेको उनले जानकारी दिए।
जेठ ८ गतेसम्म चल्ने एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकका एक सय ५० बढी स्टल छन्।
नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यन्नका सामाग्रीहरू, जडिबुटी, अटोमोवाइल, विद्युतीय सामग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू प्रर्दशनीमा राखिएको छ।
मेलाको करिब डेढ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।