जनकपुर,१२ जेठ । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससहित पक्राउ गरेको हो ।
उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम पचास हजार रुपैयाँ बिगो कायमगरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।