काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ ।
पूर्वसचिव उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने भनेर राखेको पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेसँगै विवाद सुल्झिएको हो ।
आज काठमाडौंमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङ उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् । काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् ।
तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति र तमु प्ये ल्हुँ संघ चितवनका पदाधिकारीहरुको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।
उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एकअर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ ।
धरानमा गोरु काटेर मासु भएको भिडिओ सामाजिक सञ्जालमा राखेपछि पूर्वसचिव उपाध्यायले पूर्णीमायाको तस्बिर राखेर पोस्ट गरेपछि विवाद चुलिएको थियो ।