मधेस प्रदेशमा पहिलो पटक पर्साबाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु

spot_img

बीरगन्ज,०४ असाेज । मधेस प्रदेशमै पहिलो पटक पर्साको भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण सुरु गरेको छ।

शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सथवलमा आयोजित कार्यक्रममा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी गरी ४४ जनालाई लालपूर्जा प्रदान गरिएको हो।

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र आयोगका जिल्ला अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा लालपूर्जा वितरण गरेका थिए। अध्यक्ष अहमदका अनुसार दशैंलगत्तै ठोरी गाउँपालिका–४ का १ हजार १९७ जनालाई पनि लालपूर्जा वितरण गरिनेछ।

पर्सामा ५ हजार १७८ जनाले लालपूर्जाका लागि आवेदन दिएका छन्। तीमध्ये शनिबार पहिलो चरणमा ४४ जनाले प्रमाण–पूर्जा पाएका हुन्। वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँपालिकाबाट आवेदन संकलन गरी प्रक्रिया पूरा भएपछि वितरण सुरु गरिएको आयोगले जनाएको छ।

आयोगका अध्यक्ष अहमदले भने, “मैले पद सम्हालेकै बेला पर्साका भूमिहीन र सुकुम्बासीलाई आफ्नै कार्यकालमा लालपूर्जा दिने वाचा गरेको थिएँ। आज त्यो सपना पूरा भएको छ। यो मेरो जीवनकै सबैभन्दा खुशीको क्षण हो।”

उहाँले बाँकी ५ हजारभन्दा बढी लाभग्राहीलाई पनि छिट्टै लालपूर्जा वितरण हुने स्पष्ट पार्नुभयो।

कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षता र आयोग अध्यक्ष तबरेज अहमदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष बासुदेव महत्तो थारु, आयोगका विज्ञ सदस्य सन्तोष पासवानलगायतको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय