आगामी चुनावमा सवा लाख म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव

spot_img

काठमाडौँ,२१ कातिक । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा निर्वाचनका लागि करिब १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव अघि सारेको छ। २१ फागुनमा निर्धारित चुनावको सुरक्षालाई प्रभावकारी बनाउन म्यादी प्रहरीको ठूलो संख्या आवश्यक पर्ने भन्दै प्रारम्भिक सुरक्षा खाका तयार गरिएको हो।

खाकाअनुसार म्यादी प्रहरीको तालिम, तलब–भत्ता, पोसाकलगायतका खर्चका लागि ४ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान छ। २०७९ को आमनिर्वाचनको सुरक्षा मोडेललाई आधार बनाएर यसपटकको सुरक्षा रणनीति निर्माण भइरहेको छ।

चुनाव सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्मिलित एकीकृत कार्यदल सक्रिय रहेको छ। सहायक रथीको नेतृत्वमा तयार गरिएको सुरक्षा खाका गृह मन्त्रालयमार्फत केन्द्रीय सुरक्षा समितिमा पेस हुने र त्यसपछि निर्वाचन आयोगसँग समन्वय गरी अन्तिम रूप दिइनेछ।

हाल नेपालमा नेपाली सेनामा करिब १ लाख, नेपाल प्रहरीमा ८० हजार र सशस्त्र प्रहरीमा ३७ हजार सुरक्षाकर्मी कार्यरत छन्। विगतका निर्वाचनहरूमा नियमित सुरक्षा जिम्मेबारीबाहेक समग्र जनशक्तिको ८० प्रतिशतभन्दा बढी चुनावी सुरक्षामा खटाइने गरिएको छ। बाँकी आवश्यक जनशक्ति म्यादी प्रहरीमार्फत पूर्ति हुँदै आएको छ।

२०७९ को निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी र साढे २ लाख कर्मचारी तैनाथ गरिएको थियो। २४ भदौपछि सिर्जित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस पटक निगरानी, संयुक्त गस्ती र संवेदनशील क्षेत्रहरूमा सुरक्षा घेरा थप कडा बनाइने तयारी भइरहेको छ।

प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार, भित्री घेरामा प्रहरी र म्यादी प्रहरी परिचालन गरिनेछ भने उच्च जोखिमयुक्त क्षेत्रमा सेना र सशस्त्र प्रहरी बाहिरी सुरक्षा घेरा सम्हाल्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय