मोरङ १३ वर्षीया अंशु गौतम हत्या प्रकरण– छिमेकी एक व्यक्ति नियन्त्रणमा, अनुसन्धान तीव्र

spot_img

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले छिमेकी एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको भए पनि घटनामा उनको संलग्नता औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा अधिकारीले हत्या स्वीकार गरेको बताइए पनि प्रहरी प्रशासनले संवेदनशीलता र प्रमाण संकलनको अवस्थालाई ध्यानमा राख्दै आधिकारिक निष्कर्ष सार्वजनिक गर्न हतार नगर्ने जनाएको छ।

अंशु असोज २१ गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। करीब दुई हप्तापछि कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको शव अत्यन्तै विभत्स अवस्थामा भेटिएको थियो। शव टाउको र शरीर छुट्टिएको, अवस्था कुहिएको र दुर्गन्धित रहेकाले फरेन्सिक प्रमाण संकलनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

प्राथमिक अनुसन्धानले अंशुको हत्या बेपत्ता भएको दिन नै भएको अनुमान लगाए पनि बलात्कारपछि हत्या गरिएको हो/होइन भन्ने यकिन खुल्न बाँकी छ। घटनास्थलमा भेटिएका कपडा र अवस्थामा प्रहरीले यौनजन्य हिंसाको सम्भावना समेत अस्वीकार गरेको छैन।

प्रहरीका अनुसार पुरानो विवादका कारण नियोजित रूपमा हत्या भएको हुनसक्ने आशंका छ। हाल अनुसन्धान एक व्यक्तिमै केन्द्रित देखिए पनि अन्य कोणबाट पनि अनुसन्धान जारी रहेको अधिकारीहरूले बताए।

घटना सुल्झाउन जिल्ला प्रहरी मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सम्मिलित टोली लामो समयदेखि सक्रिय थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनालाई “अत्यन्त संवेदनशील र गम्भीर” भन्दै पोस्टमार्टम, डीएनए र फरेन्सिक रिपोर्ट आएपछि मात्र अन्तिम निर्णय हुने स्पष्ट पारे। अंशुको शवको पहिचान परिवारले गरिसकेका छन् भने डीएनए परीक्षण रिपोर्ट प्रतीक्षामा छ।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। आर्थिक रूपमा कमजोर परिवार रहेको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए। उनले घटनामा बलात्कारको आशंका गरिए पनि सत्य तथ्य अनुसन्धानबाटै स्पष्ट हुने उल्लेख गरे।

प्रहरीले बालिकाको परिवार, छिमेकी, विद्यालयका विद्यार्थी–शिक्षक सहित दर्जनौँ व्यक्तिसँग बयान लिएको छ। प्राविधिक विश्लेषण र शंकास्पद गतिविधिको अध्ययनपछि पक्राउ गरिएका पदम अधिकारीमाथि थप अनुसन्धान जारी छ। प्रमाण भेटिए कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय