spot_img

पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै, दुई ‘बोल्ड’ महिला उम्मेदवार आमनेसामने

spot_img
spot_img

वीरगंज, ११ फागुन – नेपालमा निर्वाचनका बेला महिलालाई मुख्यतः मतदाताका रूपमा प्रयोग गरिने तर नेतृत्व तहमा पर्याप्त अवसर नदिइने आरोप राजनीतिक दलहरूमाथि लाग्दै आएको छ। कानुनले अनिवार्य गरेको कोटा बाहेक महिलालाई उम्मेदवार बनाउने उदाहरण अझै पनि सीमित छन्। तर यस पटक पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि दुई जना ‘बोल्ड’ महिला उम्मेदवार आमनेसामने हुँदा प्रतिस्पर्धा थप रोचक बनेको छ।

पर्सा–२ मा नेकपा एमालेले महिला नेतृ रिमा यादवलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिना जैसवाललाई प्रतिस्पर्धामा उतारेको छ। दुबै उम्मेदवार आ–आफ्नो शैली र स्पष्ट धारणा कारण मतदातामाझ लोकप्रिय बन्दै गइरहेका छन्।

राप्रपाकी उम्मेदवार बिना जैसवाल उच्च शिक्षा हासिल गरेकी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा चिनिन्छिन्। यसअघि राप्रपाबाट समानुपातिकतर्फ सांसद बनेकी जैसवालले छोटो समयमै राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरेकी छिन्। उनी सनातन हिन्दुधर्म र राजासहितको लोकतन्त्रको पक्षमा खुलेर वकालत गर्दै आएकी छिन्।

त्यसैगरी, स्नातकसम्म अध्ययन पूरा गरेकी तथा चर्चित कानुन व्यवसायी प्रधुमन यादवकी श्रीमती रिमा यादव नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएकी छिन्। बलियो संगठनको आधारमा उम्मेदवार यादवले पनि मतदातामाझ सक्रिय अभियान सञ्चालन गर्दै अन्य उम्मेदवारलाई कडा चुनौती दिइरहेकी छिन्।

पर्सा–२ मा प्रारम्भमा कुल ३१ जनाले उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेसका बागी उम्मेदवार राजेश्वर साह तेलीले उम्मेदवारी फिर्ता लिएपछि हाल उक्त क्षेत्रमा ३० जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये ४ जना महिला उम्मेदवार रहेका छन्। बिना जैसवाल र रिमा यादव बाहेक आम जनता पार्टीकी रञ्जु कुमारी साह तथा स्वतन्त्र उम्मेदवार किसमती देवी पनि प्रतिस्पर्धामा छन्। यद्यपि, मुख्य प्रतिस्पर्धा जैसवाल र यादवबीच हुने आकलन गरिएको छ।

दुवै उम्मेदवारले दिनहुँ जनसमर्थन विस्तार गरिरहेका छन्। उम्मेदवार जैसवालले नेपाली समाजमा महिलालाई राजनीतिमा पछाडि पारिएको उल्लेख गर्दै यस पटक महिला नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउँदै मत मागिरहेकी छिन्। उनले आफू कडा प्रतिस्पर्धामा रहेको र जित सुनिश्चित गर्ने आत्मविश्वासका साथ चुनावी अभियानमा सक्रिय रहेको बताएकी छिन्।

त्यस्तै, रिमा यादवले पनि स्पष्ट एजेन्डा र बढ्दो जनसमर्थनका आधारमा आफू उत्साहित रहेको जनाउँदै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएकी छिन्।

पर्सा–२ मा उम्मेदवारहरूको भीडमा महिला उम्मेदवारको संख्या कम भए पनि उनीहरूको सक्रियता र समीकरणका कारण पुरुष उम्मेदवारहरूलाई समेत कडा चुनौती सिर्जना भएको बताइएको छ। दुई प्रभावशाली महिला उम्मेदवार आमनेसामने भएपछि यस क्षेत्रको चुनावी माहोल थप रोमाञ्चक बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय