आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै व्यवसायी र जेन-जी आन्दोलित

spot_img

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय व्यवसायी र जेन-जीहरूले सोमबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्। सरकारको निर्णयपछि उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका छन्।

आइतबार दुई घण्टा धर्ना दिएको समितिले सोमबार तीन घण्टा धर्ना दिएको छ र मंगलबारदेखि स्थानीय तह र कार्यालयको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी पनि दिएको छ।

संघर्ष समितिका संयोजक मोहन यादवले बताएअनुसार, “सरकारले षड्यन्त्रपूर्वक करदाता सेवा कार्यालय खारेज गरेपछि करदाताले समस्या भोग्नुपरेको छ। यहाँ ७२ हजारभन्दा बढी करदाता छन् र २०७८/७९ मा कर राजस्व एक अर्ब रुपैयाँभन्दा बढी संकलन भएको थियो, तर सेवाहरू यहाँबाट हटाइयो। हाम्रो माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्नेछौं।”

जेन-जी र व्यवसायीहरूले गत शनिबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए। यसअघि सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा कात्तिक २२–२७ सम्म सेवा कार्यालय खारेजविरुद्ध हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीसम्म बुझाइएको थियो।

राजविराजस्थित आन्तरिक राजस्व कार्यालय जनयुद्धकालमा आफ्नै भवनमा थियो। लहान सरेपछि २०७५ मा यहाँ करदाता सेवा कार्यालय स्थापना गरिएको थियो। तर हालको सरकारले यो कार्यालय खारेज गर्ने निर्णय गरेपछि व्यवसायी र जेन-जीहरू आन्दोलित भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय