जाडोमा पर्साको राजनीतिक ताप उच्च, जेन–जी आन्दोलनले पुराना नेताहरू पाखा लगाउने सम्भावना न्यून

spot_img

पर्सा, २५ मंसिर-  जाडो मौसम चलिरहेको भए पनि पर्सामा राजनीतिक ताप भने असाधारण रूपमा उक्लिएको छ। नेपाली कांग्रेस, जसपा लगायतका दलहरूले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्ना नेताहरूको नाम टिकटका लागि सिफारिस गरेसँगै जिल्लामा चुनावी सरगर्मी तीव्र बनेको हो।

यस पटक पनि पर्सामा हेभीवेट नेताहरूबीच प्रतिस्पर्धा हुने संकेत प्रष्ट देखिन थालेपछि राजनीतिक राप झन् चुलिएको छ। नेपाली कांग्रेस पर्साले क्षेत्र नं. १ मा उद्योगपति अनिल रुँगटालाई उम्मेदवार बनाउने तयारी गरेको छ भने जसपाले पूर्वमन्त्री तथा अनुभवी नेता प्रदीप यादवलाई चुनावमा उतार्ने लगभग पक्का भएको नेताहरूले बताएका छन्।

यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक ह‌री पन्त, त्यस्तै अजय द्विवेदी, लालबाबु राउत गद्दीसहित अन्य नेताहरू समेत प्रतिस्पर्धामा देखिने सम्भावना बढ्दो क्रममा छ। यस कारण क्षेत्र नं. १ को निर्वाचनलाई निकै रोमाञ्चक मानिएको छ।

जेन–जी आन्दोलनपछि केही नयाँ अनुहार राजनीति प्रवेश गर्ने अनुमान गरिए पनि ठूला दलमा “भाइभन्दा दाईकै रजगज” रहने परिस्थिति कायम भएकाले पर्सामा नयाँ पुस्ताका नेताहरू उदाउने सम्भावना न्यूनै देखिएको विश्लेषकहरू बताउँछन्।

त्यसैले यस पटकको चुनावी भिडन्तमा नयाँ अनुहारभन्दा पुरानै प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा हुने स्पष्ट संकेत मिलिरहेको छ। राजनीतिक विश्लेषकहरूको भनाइ छ— “लडाइँ रोचक हुनेछ, र केही परिणाम अपेक्षा विपरीत आउन सक्छ।”

नेपाली कांग्रेसले यस पटक पनि आफ्ना पुरानै नेताहरूलाई प्राथमिकता दिने मनसाय राखेको सिफारिस समितिको हालैको निर्णयबाट स्पष्ट भइसकेको छ। क्षेत्र नं. १ मा विगतको चुनावमा जसपा नेता प्रदीप यादवसँग पराजित भएका अजय द्विवेदीको नाम पनि बलियो रूपमा चर्चामा छ।

द्विवेदीले यस विषयमा कुनै टिप्पणी नगर्ने बताए पनि कांग्रेसभित्र आफू निकट नेतृत्व नआए टिकट पाउने सम्भावना कम भएकाले तमलोपासँग पनि उनले चुनाव लड्ने विकल्पबारे छलफल भइरहेको बताइन्छ। तर अहिलेसम्म यसबारे कुनै ठोस निर्णय नभएको उनको भनाइ छ।

पर्सामा यस पटक पनि सबै हेभीवेट नेताहरूले चुनावमा उम्मेदवार हुने दाबी गरेका छन्। नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम परिणामपछि केही नेताहरूको अनुहार फेरबदल हुने अपेक्षा गरिए पनि सिफारिस भएका नामहरूमा पुरानै नेताहरू दोहोरिनुले टिकटमा उनीहरूकै दबदबा रहने लगभग निश्चित भएको छ।

निर्वाचन क्षेत्र नं. १ मा अनिल रुँगटा, र क्षेत्र नं. ४ मा रमेश रिजालको नाम एकल रूपमा सिफारिस भएको छ। कुनै विशेष परिवर्तन वा चमत्कार नभए दुबै जनाको टिकट पक्का हुने मानिएको छ।

क्षेत्र नं. २ मा अजय चौरसियालाई टिकट पक्का रहेको विश्लेषकहरू बताउँछन्। उनी यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडी जितेका थिए। तर यस पटक उनलाई चुनौती दिँदै राजेन्द्र बहादुर अमात्यले पनि क्षेत्र नं. २ बाट आफ्नै नाम सिफारिस गराउन सफल भएका छन्। अमात्यले यस क्षेत्रबाट आफू उम्मेदवार हुने घोषणा गरिसकेका छन्।

क्षेत्र नं. ३ मा पनि सुरेन्द्र चौधरीकै नाम प्रमुख रूपमा सिफारिस भएको छ। उनको नाम एकल नभए पनि उनी हेभीवेट नेता भएकाले सोही क्षेत्रबाट टिकट पाउने लगभग निश्चित रहेको जानकारहरूको भनाइ छ।

उता मधेशवादी दलहरूबीच मोर्चाबन्दी वा एकताबारे गम्भीर गृहकार्य भइरहेको छ। यस्तो मोर्चाबन्दी बनेको खण्डमा उम्मेदवार सूचिमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ। जसपा नेपालका एक नेताका अनुसार मधेशवादी दलहरूबीच धेरै मुद्दामा सहमति बनिसकेको छ र “जुन क्षेत्रबाट जसले जितेको छ, त्यही पार्टीको उम्मेदवारलाई समर्थन गर्ने” सहमति बनिरहेको छ।

यदि मोर्चा बनेर चुनावमा जाने हो भने पर्सा–१ मा जसपाका नेता प्रदीप यादव नै प्रमुख उम्मेदवार हुने लगभग निश्चित देखिन्छ।

चुनावले के नतिजा दिन्छ, अहिले नै पूर्वानुमान गर्नु हतारो होला। तर पुरानै अनुहार प्रतिस्पर्धामा देखिएकाले पर्साबाट प्रतिनिधि सभामा पुनः पुरानै नेताहरूको दबदबा कायम रहने संभावनालाई धेरैले बलियो देखिरहेका छन्।

जेन–जी आन्दोलनले तत्कालीन ओली सरकार ढालेर सुशील कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गराए पनि बारा, पर्सा लगायत मधेशका जिल्लाबाट प्रतिनिधि सभामा नयाँ अनुहार प्रवेश गर्ने सम्भावना भने यस पटक पनि न्यून देखिएको जानकारहरूको निष्कर्ष छ।

spot_img

ताजा अपडेट

लोकप्रिय