३० पुस, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक रूपमा देखिएपछि पार्टीभित्रको राजनीतिक बहस नयाँ मोडमा पुगेको छ। केन्द्रीय समितिको बैठकमा लिखित मन्तव्य पेस गर्दै उनले सक्रिय राजनीतिबाट टाढिने संकेत दिए पनि पछिल्ला गतिविधिले देउवा फेरि सक्रिय भूमिकातर्फ उन्मुख भएको प्रष्ट देखिएको छ।
सभापतिको दोस्रो कार्यकालको उत्तरार्धमा आइपुग्दा देउवाले ‘अभिभावकीय भूमिका’मा रहने संकेत गरेका थिए र कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको थियो। तर, सिंगापुर उपचारबाट फर्किएपछि देउवा शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटेपछि पार्टीभित्र विशेष महाधिवेशन पक्षधरहरू थप शंकित बने।
चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्ने बहसबीच दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको पक्षमा जोड दिइरहेका छन् भने संस्थापन पक्ष नियमित महाधिवेशनको कार्यतालिकामै अघि बढ्नुपर्ने अडानमा छ। देउवाले शीर्ष नेताहरूलाई निवासमै बोलाएर निर्णय प्रक्रिया अघि बढाएपछि नियमित महाधिवेशनको कार्यतालिका पारित भएको थियो।
तर विशेष महाधिवेशन पक्षधरले देउवाको सक्रिय भूमिकामै मूल आपत्ति जनाउँदै उनी कार्यकारी पदबाट बाहिरिनुपर्ने माग अघि सारेका छन्। त्रिपक्षीय वार्तामा महाधिवेशनको स्वामित्व, प्रतिवेदनलाई पार्टीको पुँजीका रूपमा स्वीकार्ने, एमालेसँग चुनावी गठबन्धन नगर्ने जस्ता एजेन्डामा सहमति नजिक पुगे पनि देउवाको बहिर्गमनमा एकमत बन्न नसक्दा वार्ता टुंगो लाग्न सकेन।
देउवाले भने आफू सक्रिय राजनीतिबाट टाढा बस्ने अभिव्यक्ति दिए पनि पार्टीका प्रमुख निर्णयहरू उनको स्वीकृति बिना अघि नबढ्ने परिस्थितिले उनको प्रभाव अझै कायम रहेको देखिएको छ। उनले राष्ट्रपति र प्रधानमन्त्रीले बोलाएको बैठकमा सक्रिय उपस्थिति जनाउँदा पार्टी बैठकमा भने सहभागी नहुनुले पनि दोस्रो रेखाको सक्रियताप्रति प्रश्न उठाएको छ।
महामन्त्रीद्वयले देउवालाई ‘संरक्षक भूमिका’मा बस्न प्रस्ताव गरे पनि देउवाले अस्वीकार गरेका छन्। विशेष महाधिवेशनबाट पार्टी विभाजन हुन नदिन प्रयास जारी रहेको बेला विशेष पक्षधरले निर्वाचन प्रक्रियामा तीव्रता दिएका छन्। प्रतिनिधि सभा उमेदवारको टिकटमा हस्ताक्षर नर्गने विषयमा देउवा लचिलो देखिए पनि कार्यकारी पद छाड्ने विषयचाहिँ मुख्य विवादको केन्द्रमा रहेको कांग्रेस नेताहरूको आकलन छ।

