बीरगन्ज,२६ पुस । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले नेकपा (माओवादी केन्द्र) बाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका छन्। बिहीबार उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र पठाउँदै पार्टी परित्यागको औपचारिक घोषणा गरेका हुन्।
निकट स्रोतका अनुसार, अन्सारीले माओवादीमा साधारण सदस्यतासमेत जोखिममा परेको अवस्था र आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने सुनिश्चित भएपछि रास्वपा प्रवेश गर्ने निर्णय गरेका हुन्। उनी पर्सा–१ वा बारा–४ बाट निर्वाचन लड्ने तयारीमा छन् र बारा–४ लाई प्राथमिकता दिएका देखिन्छन्।
तर, अन्सारीको सम्भावित प्रवेशप्रति बीरगन्जका जेन–जी युवाहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन्। जेन–जी युवा विक्की सर्राफले मधेस र जेन–जी आन्दोलनमा कुनै योगदान नदिएका, आफ्नो क्षेत्रमा काम नगरेका रहबर जस्ता अवसरवादी नेताहरूलाई पार्टीमा भित्र्याउनु युवा र वैकल्पिक पार्टीको छवि विपरीत हुने बताए। पर्साका अध्यक्ष विशेष साहले पनि विद्रोहको चेतावनी दिँदै भने, “आन्दोलनमा भूमिका नखेलेका व्यक्तिलाई प्रवेश गराएर चुनाव लडाए हामीले विरोध गर्नेछौं।”
अन्सारीको राजनीतिक करियर विवादित र स्टन्टबाजीले भरिएको छ। बीरगन्जमा सिमेन्ट माफियाविरुद्ध र्याली, घण्टाघरमा कालो मोसो लगाएर प्रदर्शन र स्थानीय निर्वाचनमा भाइरल भिडियो बनाउने जस्ता घटनाहरूले उनलाई ‘स्टन्ट गर्ने नेता’ को छवि दिएको छ।
विश्लेषकहरूले अन्सारीको सम्भावित रास्वपा प्रवेशले पार्टीको युवा–केन्द्रित र वैकल्पिक छविमा असर पर्न सक्ने अनुमान गरेका छन्। पर्साको राजनीतिमा तरङ्ग ल्याउने यो कदम पार्टीका लागि लाभदायक हुने कि नोक्सानदायक, समयले मात्र देखाउने छ।

