काठमाडाैं,२१ माघ । चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेश पटक–पटक अवज्ञा गरेपछि बलिउड अभिनेता राजपाल यादव कानुनी संकटमा परेका छन्। दिल्ली हाईकोर्टले नेगोसिएबल इन्स्ट्रुमेन्ट्स ऐन अन्तर्गतको मुद्दामा उनलाई तत्काल आत्मसमर्पण गर्न आदेश दिएको छ।
अदालतले तोकेको समयसीमाभित्र भुक्तानी गर्न पटक–पटक गरिएको प्रतिबद्धता पूरा हुन नसकेपछि न्यायालयले कडा कदम चालेको हो। राजपाल यादव र उनकी पत्नीविरुद्ध एउटा निजी कम्पनीले चेकमार्फत भुक्तानी नपाएको भन्दै मुद्दा दायर गरेको थियो। सोही मुद्दामा तल्लो अदालतले यसअघि यादवलाई ६ महिनाको कैद सजाय सुनाएको थियो।
पछि, दुवै पक्षबीच आपसी समझदारीमा बक्यौता रकम तिर्ने शर्तमा दिल्ली हाईकोर्टले सजाय स्थगित गर्दै यादवलाई राहत दिएको थियो। तर, अदालतका अनुसार उनले बारम्बार समय लिँदै आएका भए पनि सहमतिअनुसारको भुक्तानी गर्न सकेनन्।
समाचार एजेन्सी एएनआईका अनुसार सुनुवाइका क्रममा न्यायमूर्ति स्वराणा कान्ता शर्माले राजपाल यादवको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन्। अदालतले दिएको मौका र सहानुभूतिको दुरुपयोग भएको ठहर गर्दै अब थप विश्वास गर्न नसकिने आदेशमा उल्लेख गरिएको छ।
हाईकोर्टले यसअघि दिएको संरक्षण आदेश फिर्ता लिँदै राजपाल यादवलाई ४ फेब्रुअरी २०२६ सम्म सम्बन्धित जेल प्रशासनसमक्ष आत्मसमर्पण गर्न निर्देशन दिएको छ। साथै, अदालतमा जम्मा गराइएको रकम उजुरीकर्ता कम्पनीलाई उपलब्ध गराउन पनि आदेश दिइएको छ।
यस मुद्दाको अर्को सुनुवाइ ५ फेब्रुअरी २०२६ मा तोकिएको छ, जहाँ राजपाल यादवले आत्मसमर्पण गरेको वा नगरेको विवरण अदालतमा पेस गर्नुपर्नेछ।



