हेटौँडा,२३ माघ । आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।
नेपाल नागरिकता ऐन, २०६३ को चौथो संशोधन र त्यसअनुसारको नियमावली, २०८२ मन्त्रिपरिषद् स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि उनीहरूले आमाको नामबाट नागरिकता पाएका हुन्।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार हेटौँडा उपमहानगरपालिका–११ का तीन, वडा नं. ४ का एक र राक्सिराङ्ग गाउँपालिका एक गरी पाँच जनाले नागरिकता प्राप्त गरेका छन्।
तीमध्ये सबैको नागरिकता पाउन लामो समयदेखि प्रयास भइरहे पनि बुबा विदेशी हुनुको कारणले नागरिकता पाउन असम्भव भएको थियो। संशोधनपछि अब आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था लागु भएपछि पाँचै जनाले प्रमाणपत्र प्राप्त गरेका हुन्।
सहायक प्रजिअ जोशीले भने, “नेपाल नागरिकता ऐनको नयाँ नियमअनुसार आवश्यक कागजात पेश गरेपछि आमाको नामबाट नागरिकता उपलब्ध गराउन सकिन्छ। यस प्रक्रियाले नागरिकताको पहुँच अझ प्रभावकारी बनाउनेछ।”

