पर्वत,२२ माघ । जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप दिइने भएको छ। यस अभियान अन्तर्गत जिल्लाका ६१ वटै वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई खोप लगाइनेछ।
खोप अभियान माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले खोप पूर्ण रूपमा सुरक्षित भएकाले निर्धक्कसँग लगाउन किशोरीहरूलाई आग्रह गरेका छन्। निजी तथा सामुदायिक विद्यालयका किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप दिइने जनाइएको छ।
यस अवधिमा गत वर्ष खोप लगाउन छुटेका कक्षा ७–१० का छात्रा तथा ११–१४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीलाई पनि खोप दिइने छ। अभियानमा १२७ स्वास्थ्यकर्मी र १२७ स्वयंसेवक परिचालन गरिनेछ।
मुख्य जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले महिलाको प्रजनन स्वास्थ्यसँग जोडिएको एचपीभी खोप अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। उनले पाठेघरको मुखको क्यान्सर जस्ता प्राणघातक रोगबाट बच्न खोप अनिवार्य र सुरक्षित भएको बताए। अभियानमा छुटेकालाई थप एक हप्ता समय दिइनेछ।
जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले प्रचार–प्रसारलाई तीव्र बनाइएको र खोप सुरक्षित भएकाले नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गरेका छन्। पर्वतका सातै पालिका र वडास्तरमा पनि अभियान सञ्चालनको तयारी भइरहेको छ। गत वर्ष जिल्लामा चार हजार ७४९ जनालाई एचपीभी खोप दिइएको थियो।



