छ महिनामा सवा आठ अर्ब विदेशी लगानी भित्रियो

spot_img

काठमाडौँ,२४ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालमा सवा आठ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म कुल ८ अर्ब १७ करोड रुपैयाँ वैदेशिक लगानी नेपाल प्रवेश गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६ अर्ब ४८ करोड रुपैयाँ मात्र एफडिआई भित्रिएको थियो, जसले यस वर्ष वैदेशिक लगानीमा उल्लेख्य वृद्धि देखाएको छ।

छ महिनाको अवधिमा ४७५ वटा परियोजना मार्फत ३९ अर्ब २३ करोड ६१ लाख रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ। यद्यपि प्रतिबद्धताको तुलनामा वास्तविक रूपमा भित्रिने लगानी रकम भने अझै न्यून रहेको देखिन्छ।

सरकारले पछिल्लो समय गरेको नीतिगत सुधारकै कारण वैदेशिक लगानी प्रवाह बढेको विश्लेषण गरिएको छ। यही अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब २९ करोड रुपैयाँ भन्दा दोब्बरभन्दा बढी हो।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’जस्ता राजनीतिक गतिविधिका बाबजुद पनि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ बढी वैदेशिक लगानी भित्रिनु अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ।

यस्तै सरकारले विदेशी लगानीलाई स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने नीतिमा सुधार गरेसँगै आगामी दिनमा लगानी थप बढ्ने अपेक्षा गरिएको छ। सरकारले हालै स्वचालित मार्गबाट स्वीकृत हुने वैदेशिक लगानीको अधिकतम सीमा हटाएको छ।

यसअघि अटोमेटिक रुटमार्फत अधिकतम ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी मात्र स्वीकृत हुने व्यवस्था थियो। अब भने रकमको सीमा हटाइएकाले जुनसुकै परिमाणको विदेशी लगानी पनि स्वचालित प्रक्रियाबाट स्वीकृत हुने छ, जसले लगानीकर्तालाई थप सहज र छिटो निर्णयको वातावरण बनाउने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय