काठमाडौँ,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्री व्यवस्थापनलाई अन्तिम रूप दिएको छ। आयोगले ९ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने र बाँकी ३७ प्रकारका सामग्री जिल्लास्तरमै व्यवस्थापन गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार केन्द्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम तथा मतदान केन्द्र प्रयोजनका सुरक्षणशील कागजात, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिकाका लागि स्टीकर समावेश छन्।
यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, विभिन्न अनुसूची फाराम, पोल बुक (डायरी), मार्कर पेन, स्केल, स्टेपलर मेसिन र पिन, कैंची, ग्लु स्टिक, काउन्टिङ डम्पर, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री तथा बाहिरी कार्ड, पुरुष र महिला मतदान कार्ड, मतदाता क्रमसङ्ख्या सूची, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप लगायतका सामग्री रहेका छन्।
त्यसैगरी नेपाली कागजका खाम, कपडायुक्त खाम (निविदा मतपत्रका लागि), ए–४ साइजका सेतो कागज, रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन र कोरा कपडा, सलाइ, कालो तथा रातो जेल पेन र चारवटाको मैनबत्ती प्याकेटसमेत जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रूपमा सूचीबद्ध गरिएको आयोगले जनाएको छ।

