काठमाडौँ,२५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको चौतर्फी विकास, सामाजिक न्याय र दिगो समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य रहेको बताएका छन्। उनले सबै जाति र समुदायलाई राज्यप्रति भरोसामा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि मात्र राजनीतिक स्थायित्व सम्भव हुने स्पष्ट पारे।
आइतबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई राष्ट्रिय गानको ‘सयौँ थुँगा फूल’सँग तुलना गरे। उनले यो विविधतायुक्त फूलबारीलाई अझ समुन्नत बनाउन समान पहुँच, सम्मान र अवसर अपरिहार्य हुने उल्लेख गरे।
संविधानले निर्दिष्ट गरेको समावेशी राज्यको परिकल्पना यही भएको उल्लेख गर्दै राष्ट्रपतिले आदिवासी जनजातिका भाषा, लिपि, संस्कृति र परम्परालाई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारका रूपमा व्याख्या गरे। ती मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले नीतिगत तथा संरचनागत रूपमा अझ सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
यस अवसरमा राष्ट्रपतिले आदिवासी ज्ञान प्रणालीहरू वातावरण संरक्षण र दिगो विकासका प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै यस्ता परम्परागत सीप र बुद्धिलाई ‘जीवित राष्ट्रिय भण्डार’को संज्ञा दिए। ती ज्ञानले समाजलाई सहअस्तित्व, सहिष्णुता र समन्वयतर्फ मार्गदर्शन गरिरहेको उनको भनाइ थियो।
रजत जयन्तीको अवसरमा आयोजना गरिएको यो सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक तथा नीतिगत बहसको केन्द्रमा ल्याउँदै उनीहरूको पहिचानलाई राष्ट्रिय विकासको मूलधारसँग जोड्न महत्वपूर्ण प्रेरणा दिने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे।

