बीरगन्ज,२६ माघ । बीरगन्ज भन्सार कार्यालयको राजस्वको ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर रहेको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यसमा पेट्रोलियम पदार्थको आयातबाट मात्र ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। दोस्रो ठूलो आयात स्रोत भने सवारीसाधन र तिनका पार्टपुर्जा रहेको छ, जसबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
सहायक सूचना अधिकारी उदयसिंह विष्टले भने, “वीरगञ्ज भन्सारको राजस्व मुख्यतः पेट्रोलियम र यातायात साधन आयातमा निर्भर छ, बाँकी वस्तुबाट राजस्व सानो हिस्सा मात्र उठिरहेको छ।”
अन्य आयात वस्तुहरूमा फलाम र फलामबाट बनेका सामग्रीबाट ८ अर्ब ८३ करोड, कपडाबाट ५ अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी तथा उपकरणबाट ४ अर्ब ९१ करोड, मदिराजन्य पेयपदार्थबाट १ अर्ब ८३ करोड र शृङ्गारका सामानबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।



