बीरगन्ज, २६ माघ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीले मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गर्दै आएको ‘सबिता ट्रेडर्स’ को गोदाममा छापा मारेको थियो। सो क्रममा करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरका साडी लगायतका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
खानतलासीको प्रक्रिया अगाडि बढाउने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यवसायी तथा उनका कर्मचारीहरूको समूहसँग विवाद चुलिँदा स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीका अनुसार सोही क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको र दुईवटा सशस्त्र प्रहरीका गाडीमा तोडफोड समेत गरिएको थियो। घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा आदर्शनगरस्थित जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफ रहेका छन्। वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीका अनुसार उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
यद्यपि, सो ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद गुप्ताले पक्राउ परेका तीन जना कर्मचारी उक्त घटनामा संलग्न नभएको दाबी गरेका छन्। उनका अनुसार प्रहरीले निर्दोष कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले गोदाममा भन्सार राजस्व छली भित्र्याइएका कपडा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारिएको बताए। उनले झडपमा घाइते भएका सशस्त्र प्रहरीको उपचारपछि ब्यारेक फर्किएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

