वीरगन्ज,२६ माघ । बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार ईन्जिनियर अरविन्द साहले मतदातासँग घरदैलो कार्यक्रम गर्दै चुनावी अभियान तीव्र बनाएका छन्।
साहले सोमबार बिहानै कलैया उपमहानगरपालिका–१८, मंगढवामा मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले मतदातासँगको कुराकानीमा भने, “म पेशाले इन्जिनियर हुँ, तपाईँहरुकै गाउँघरको र तपाईँहरुकै छोरा हुँ। यसपटक मलाई साथ दिनुहोला, म पनि यहाँको विकासका लागि सधैं तपाईँहरुसँगै हुनेछु।”
उम्मेदवार साहले चुनावी वाचा ठूला र अव्यवहारिक नभई जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित रहने बताएका छन्। उनले प्रतिनिधि सभा सदस्यको कार्यक्षेत्रभित्र पर्ने नीतिगत र संरचनागत समस्याहरू समाधान गर्ने, स्थानीय पूर्वाधार सुधार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण र युवालाई रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता रहेको स्पष्ट पारे।
साहले मतदातासँग प्रत्यक्ष भेटघाटमार्फत सुझाव संकलन गर्ने र त्यसै आधारमा नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहेको बताएका छन्।




