वीरगंज,२६ माघ – नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजालले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्व मन्त्री तथा हालका निर्वतमान सांसदसमेत रहेका रिजालले जिराभावानी गाउँपालिकाका वडा नम्बर १ र २ मा पुगेर मतदातासँग प्रत्यक्ष छलफल गरेका हुन्।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिजाललाई उत्साहपूर्ण स्वागत गरेका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनमा पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय मतदाताले कांग्रेसप्रति आफ्नो विश्वास यथावत् रहेको बताएका थिए।
मतदातासँगको अन्तरक्रियामा उम्मेदवार रिजालले सधैं युवा नेतृत्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। क्षेत्रको समग्र विकासमा युवाको योगदान अत्यन्त महत्वपूर्ण हुने बताउँदै उनले विगतमा पनि युवालाई नेतृत्वमा अघि बढाएको र आगामी दिनमा समेत युवासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
“युवाको सक्रिय सहभागिता बिना समृद्ध र विकसित समाज निर्माण सम्भव छैन,” उनले स्पष्ट पारे।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय समस्या, आवश्यकता तथा जनअपेक्षाबारे विस्तृत छलफल भएको थियो। रिजालले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीजस्ता क्षेत्रका समस्याहरू समाधान गर्न प्रभावकारी पहल गर्ने र जनताका आवाज संसदमा मजबुत रूपमा उठाउने विश्वास दिलाए।
कार्यक्रममा प्रदेशसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।



