विकास नै मेरो बोली हो : पर्सा–१ मा प्रदीप यादवको दाबी

spot_img

वीरगञ्ज, १८ फागुन – नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले यसपटकको निर्वाचनमा “मेरो विकास नै बोलिरहेको छ” भन्ने दाबी गरेका छन्। एमालेका अगुवा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा उनले जनताको अपेक्षाअनुसार काम गरेको र हरेक संकटको घडीमा मलहम लगाउने काम गरेको बताए।

उम्मेदवार यादवले क्षेत्रको विकास, कोरोना महामारी, भूकम्प तथा खानेपानी संकटका बेला आफूले खेलेको भूमिका र समस्या समाधानका लागि गरेको प्रयासकै कारण आम मतदाताले आफूलाई माया गर्ने विश्वास व्यक्त गरे।

नेकपा (एमाले) पर्साले पनि आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाताबीच उम्मेदवारबारे तीव्र छलफल भइरहेको जनाएको छ। पार्टीका अनुसार प्रदीप यादवलाई धेरै मतदाताले “निर्विकल्प” उम्मेदवारका रूपमा हेरेका छन्।

पर्सा–१ का विभिन्न वडाहरू र टोल–टोलमा जारी घरदैलो, मतदाता भेटघाट तथा छलफल कार्यक्रममा स्थानीयवासीले पूर्वमन्त्रीसमेत रहेका यादवले विगतमा उठाएका विकासका मुद्दा, सडक पूर्वाधार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रका पहललाई स्मरण गर्दै यसपटक स्पष्ट जनमत दिनुपर्ने धारणा राखेको एमाले नेताहरूले बताएका छन्।

पछिल्लो समय अन्य दलका उम्मेदवारहरूको सक्रियता देखिए पनि मतदाताको ठूलो हिस्सा स्थिर नेतृत्व र निरन्तर पहल आवश्यक रहेको बताउने गरिएको छ। युवाहरूले रोजगारी सिर्जना, उद्योग प्रवर्द्धन तथा सीमाक्षेत्रका समस्याको समाधानलाई मुख्य एजेन्डाका रूपमा उठाउनुपर्ने बताएका छन्, जसलाई उम्मेदवार यादवले प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।

दुई पटक सांसद भइसकेका यादवले पर्साको आवाज संसदमा सशक्त रूपमा उठाएको दाबी गर्दै यस क्षेत्रको मुहार फेर्न पुनः उम्मेदवारी दिएको बताएका छन्। यसपटक उनले थुप्रै नयाँ तथा जनप्रिय एजेन्डा अघि सारेकाले पनि मतदाताबीच लोकप्रिय बनेको दाबी गरिएको छ।

उम्मेदवार यादवले “जनताको काम मैले गरेको छु, मतका रूपमा आम नागरिकले माया दिनेमा म ढुक्क छु,” भने।

सुरुआतमा पर्सा–१ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिए पनि पछिल्लो समय अवस्था बदलिँदै गएको र चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुन सक्ने अनुमान जानकारहरूले गर्न थालेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय