पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव छैन, कृत्रिम अभाव नगर्न प्रशासनको चेतावनी

spot_img

बीरगन्ज,२८ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा खाना पकाउने एलपी ग्यास, पेट्रोल तथा डिजेलको कुनै अभाव नरहेको जनाएको छ। साथै सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास तथा पेट्रोलियम पदार्थ जगेडा गरेर कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरिएको छ।

बुधबार पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति अवस्था, उपभोक्ता हित संरक्षण र सम्भावित कृत्रिम अभाव नियन्त्रणका विषयमा छलफल गरेको थियो।

बैठकमा नेपाल आयल निगम, ग्यास विक्रेता संघ तथा सम्बन्धित उद्योगहरूले दिएको विवरणअनुसार पर्सा जिल्लामा ग्यास, पेट्रोल र डिजेलको मौज्दात पर्याप्त रहेको तथा आयात पनि नियमित रूपमा भइरहेको जानकारी दिइएको थियो। यसका आधारमा हाल जिल्लामा कुनै किसिमको अभाव नरहेको र निकट भविष्यमा पनि अभाव हुने सम्भावना नदेखिएको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ।

बैठकले अनावश्यक रूपमा ग्यास, पेट्रोल र डिजेलको जम्माखोरी नगर्न तथा कृत्रिम अभाव सिर्जना नगर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ। त्यस्तै पेट्रोल र डिजेललाई ग्यालेन, ड्रम जस्ता भाँडामा खुला रूपमा बिक्री वितरण नगर्न पनि निर्देशन दिइएको छ।

यसैगरी ग्यास डिलरहरूले आफूले बिक्री गरेको ग्यास सिलिण्डरको विवरण—उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहित—दैनिक रूपमा सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ। ग्यास उद्योगहरूले पनि डिलरहरूलाई बिक्री गरिएको सिलिण्डरको परिमाणसहितको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र नेपाल आयल निगम पर्सा शाखालाई दैनिक रूपमा इमेलमार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सुनिल चौरसिया, नेपाल आयल निगमका मोहन कुमार सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा उपभोक्ता मञ्च नेपालका दिना गुप्ता लगायतको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय