कांग्रेसमा समानुपातिकबाट ससुरा, श्रीमतीदेखि भाञ्जीसम्म

spot_img

काठमाडौँ,०२ चैत । नेपाली कांग्रेस ले समानुपातिक प्रणालीतर्फका सांसदको नाम पठाउँदा नेताका परिवार र आफन्तको उल्लेख्य उपस्थिति देखिएको छ। पार्टीले पाएको २० सिटमध्ये धेरैजसो नाम नेतासँग पारिवारिक वा राजनीतिक सम्बन्ध भएका व्यक्तिहरू परेका छन्।

पार्टीको आइतबार बसेको कार्यसम्पादन समिति बैठकले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम निर्वाचन आयोग मा पठाएको हो। सूचीमा विभिन्न क्लस्टरअनुसार प्रतिनिधित्व गराइएको छ।

खसआर्य क्लस्टरबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया सिफारिस भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन्।

यस्तै दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेसी क्लस्टरबाट डा. चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा मुस्लिम क्लस्टरबाट साहजान खातुन र थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार सिफारिस भएका छन्।

सिफारिस भएका केही व्यक्तिहरू शीर्ष नेताका आफन्त रहेका कारण पार्टीभित्र र बाहिर चर्चा सुरु भएको छ। खसआर्य पुरुषतर्फ सिफारिस भएका अर्जुननरसिंह केसी पार्टी सभापति गगन थापा का ससुरा हुन्। उनी यसअघि पटक–पटक सांसद र मन्त्री भइसकेका अनुभवी नेता हुन्।

त्यस्तै मधेसी क्लस्टरबाट सिफारिस भएका डा. चन्द्रमोहन यादव पहिलो राष्ट्रपति रामवरण यादव का छोरा हुन्। खसआर्य महिलातर्फ सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन् भने मधेसी क्लस्टरबाट नीनुकुमारी कर्ण नेता विमलेन्द्र निधि की भाञ्जी हुन्।

यसैबीच सामाजिक सञ्जालमा रुक्मिणी कोइराला नेता शेखर कोइराला की श्रीमती र प्रमिला गच्छदार नेता विजयकुमार गच्छदार की श्रीमती भएको चर्चा भए पनि पार्टी स्रोतले त्यस्तो नभएको जनाएको छ।

निर्वाचन आयोगले क्लस्टरको मापदण्डअनुसार सूची मिलेको–नमिलेको परीक्षण गरेपछि मात्र अन्तिम रूपमा सांसदको प्रमाणपत्र प्रदान गर्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय