बीरगन्ज,२३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा मतपेटिका भण्डारमै छुटेको घटनापछि मतगणना विवादमा परेको छ। विवादका कारण मतगणना अस्थायी रूपमा रोकिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दहाल पोखरीया घटनास्थल पुगेका छन् र मतगणना पुनः सुरू गर्न सर्वदलीय बैठक बोलाइएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार एउटा मतदान केन्द्रमा दुई वटा मतपेटिकामा मतपत्र संकलन भएको थियो।
‘एउटा मतपेटिकाबाट मतपत्र गणना भइसकेको थियो भने अर्को भण्डारमै छुटेको रहेछ,’ उनले बताए। गणना भइरहेको बेला उक्त मतपेटिकामा रहेका मतपत्र र पहिल्यै गणना गरिएका मतमा फरक देखिएकोले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार प्रतिनिधिहरूले विरोध जनाएका छन्।
प्रतिनिधि राकेश महतो कंकरका अनुसार, पटेर्वासुगौली गाउँपालिका वडा नं ४ मा खसेका २ हजार ९७९ मतमध्ये ७४५ मत हराएको पाइएपछि विरोध उठेको हो।
निर्वाचन अधिकृतले यो विवादलाई सामान्य प्राविधिक समस्या भएको उल्लेख गर्दै, सर्वदलीय बैठकमार्फत समाधान गरेर मतगणना पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।




