बहाल कर संकलन सुधार्न वीरगञ्ज महानगर सक्रिय

spot_img

वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ। महानगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा बहाल करको दायरा विस्तार गर्ने तथा स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा विशेष छलफल गरिएको हो।

बैठकमा महानगरप्रमुख सिंहले बहाल कर संकलन गर्ने अधिकार स्थानीय सरकारको भए पनि उक्त कर संघ सरकार मातहतको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने परिपाटीका कारण स्थानीय तहको राजश्व प्रभावित भइरहेको बताउनुभयो। संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार बहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था कार्यान्वयन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी आन्तरिक राजश्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको बताउनुभयो। करदाता सेवा कार्यालय खारेज भइसकेकाले स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो।

छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिकाबाटै प्यान नम्बर जारी गर्ने सम्भावनाबारे पनि विचार–विमर्श गरिएको थियो। कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय