भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको आतंककारी आक्रमणमा नेश्नल पिपुल्स पार्टीका सांसद तिरोंगो अबोसहित ११ जनाको ज्यान गएको छ ।
यो हमलामा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि ज्यान गएको छ । हमलामा २ जना गम्भीर घाइते भएका छन् ।
अरुणाञ्चल प्रहरीले यो घटनाको पुष्टि गरेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा तिरोंगो अबो आफ्ना परिवारकासाथ असमबाट अरुणाञ्चल गइरहेको उल्लेख गरिएको छ ।
चार ओटा गाडीमा सुरक्षा व्यवस्थासमेत सांसद अबो अरुणाञ्चल गइरहेका थिए । खोनसा–देओमाली सडक खण्डमा बन्दुकधारी आक्रमणकारीले उनी माथि हमला गरेका थिए । हमलामा सुरक्षा बलका दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
यो हमला कसले गरेको भन्नेबारेमा अहिले सम्म प्रहरीले केही जानकारी दिएको छैन ।