जनकपुरधाम, असार १० । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रूपैयाँ आकारको बजेट सार्वजनिक गरेकाे छ।
शुक्रबार उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा उपमहानगरले चालुतर्फ ५९.४५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगततर्फ ४०.६ प्रतिशत अर्थात् ७३ करोड ३० लाख १८ हजार रूपैयाँ विनियोजन गरेको छ।
आन्तरिक श्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय, वाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय बजेट खर्च व्यहोर्नका लागि रकम उपर गरिने छ।
उपमहानगरले विभिन्न शिर्षकमा खर्च गर्नका लागि विभिन्न समितिहरू बनाएर बजेट विनियोजन गरेको छ।
आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन विकास समितिका लागि ५ करोड र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ।