spot_img

श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा

spot_img
spot_img

१९ वैशाख, काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको चलचित्र मैथिली भाषामा तयार गरेर नेपाली र भोजपुरी भाषामा स्वराङ्कन गरिने निर्देशक पुर्णेन्दु के झाले जानकारी दिए ।

उनले चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताए ।  उनले भने, “हाम्रो देशबाट श्रमिकको रुपमा बाहिरिनेको सङ्ख्या निरन्तर बढ्दो छ । यस विषयमा अध्ययन र अनुसन्धान गरेपछि कथालाई चलचित्रमार्फत देखाउनुपर्छ भन्ने लागेर यसको निर्माण गर्दैछौँ । यो मधेसको पृष्ठभूमिमा तयार गरिने आम मानिस र सरकारबीचको कथा हो ।” 

यस  अगाडि नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउ’ जस्ता चलचित्र निर्देशन गरिसक्नु भएका झाले मैथिली भाषामा बन्ने चलचित्रको स्तरीयता र नयाँ पन महसुुस हुने गरी ‘लेबर’ लाई निर्देशन गरेर तयार गरिने बताए । “हामी नेपाली चलचित्रको बजार विदेशमा खोजिरहेका छौँ । तर, हामीले स्वदेशमै भएको बजारलाई बलियो बनाउने र विस्तार गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । यो नेपालभर प्रदर्शन हुने चलचित्र बन्नेछ”, निर्देशक झाले भने ।  

कार्यक्रममा उपस्थित पूर्वराजदूत डा सूर्यनाथ मिश्रले यो विषय गम्भीर भएको र प्रवासमा रोजगारीको लागि पुग्नेको प्रत्यक्ष सरोकारको विषयमा चलचित्र बन्न लागेको बताए । “दुई करोडभन्दा बढी जनसङ्ख्याको सरोकारको विषय भएकाले यो सान्दर्भिक सँगै संवेदनशील पनि छ । यो विषयलाई चलचित्रमा ल्याएर प्रस्तुत गर्नु आफैँमा तारिफ योग्य काम हो । श्रमिकसँग भइरहेको बेथितिलाई यसले प्रस्तुत गरेर सम्बन्धित निकायलाई झक्झकाउनेमा विश्वस्त छु”, उनले भने ।  

कार्यक्रममा निर्माण समूहलाई शुभकामना दिँदै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली चलचित्रको क्षेत्रमा आधुनिक यात्रा प्रारम्भको विन्दु यो चलचित्र हुन सक्ने सम्भावना रहेको बताए । 

“यसको सार्वजनिक गरिएको श्रव्यदृश्य हेर्दा मैथिली चलचित्रमा नयाँ पुस्ताले आधुनिकता भित्र्याएका छन् भन्न सकिन्छ । चलचित्र तयार हुने तीनै भाषाका व्यक्ति श्रमिकको समस्यासँग जोडिएका छन् । त्यसकारण पनि यो चलचित्र ती व्यक्तिका लागि आवाज बन्ने छ र त्यो समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त छु”, अध्यक्ष झाले भने, “लेबरको बेथितिविरुद्धको विद्रोहको रुपमा चलचित्र आवाज उठाउने सार्वजनिक श्रव्यदृश्यमार्फत सङ्केत गरेको छ । यो विद्रोह कायम रहेको खण्डमा चलचित्रले सार्थकता पाउने छ ।”

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माताको रुपमा छन् । निर्देशक झासँगै नरेश मिश्राले लेख्नुभएको चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारले अभिनय गर्दै छन् । 

चलचित्रमा प्रवेश मल्लिकले सङ्गीत तथा पाश्र्वसङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन, आलोक शुक्लले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, मल्लाज अडियो वर्कसले ध्वनि मिश्रण तथा मुद्रण, अक्की थेक्पाले कला निर्देशन गर्दै छन् । चलचित्र ‘लेबर’ यसै वर्ष पुससम्ममा प्रदर्शन गरिने कार्यक्रममा जानकारी गराइयो । 

spot_img

ताजा अपडेट

लोकप्रिय