बीरगन्ज, १० माघ- सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत एमईएस, मुनलाईट र ज्ञान ज्योति क्वाटर फाईनलमा प्रवेश गरेका छन् । मंगलबार भएका प्रि क्वाटर फाईनल चरण अन्तर्गतका अन्तिम खेलहरुमा ज्ञानदालाई पराजित गर्दै एमईएस, हिमालय पिरामिडलाई पराजित गर्दै मुनलाईट र लिटल एन्जल्सलाई पराजित गर्दै ज्ञान ज्योति माविले क्वाटर फाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
मंगलबार पहिलो खेलमा ज्ञानदा एकेडिमीलाई मात्र १ रनले एमईएस स्कूलले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको एमईएसले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । १ सय २३ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदाले ५ विकेटको क्षतिमा पूरै १५ ओभर खेलेर मात्र १२१ बनाएको थियो । खेलमा ३ विकेट लिएका ज्ञानदाका कृष्णा सर्राफ म्यान अफ दी म्याच घोषित भए ।
यस्तै, मंगलबार नै भएको प्रि क्वाटर फाईनल चरणको खेलमा मुनलाईट मावि विजयी भएको छ । हिमालयन पिरामिड माविलाई ५ विकेटले पराजित गर्दै मुनलाईट क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको हिमालयन पिरामिडले १४.४ ओभरमा पूरै विकेटको नोक्सानीमा मात्र ७५ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मुनलाईटले ९.३ ओभर खेल्दै मात्र ५ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पार गर्दै ७६ रन बनाएपछि विजयी भएको हो । खेलमा मुनलाईटका सेराज हवारी म्यान अफ द म्याच घोषित भए ।
यसैगरी, प्रि क्वाटर फाईनल चरणको अन्तिम खेलमा लिटल एन्जल्सलाई ३० रनले पराजित गर्दै ज्ञानज्योति मावि विजयी भएको छ । टस जितेर लिटल एन्जल्सले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ज्ञानज्योतिले पुरै १५ ओभरमा ९ विकेटको नोक्सानीमा १२९ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको लिटल एन्जल्सले ६ विकेट खर्चेर पुरै ओभर खेल्दा पनि मात्र ९९ रन बनायो । खेलमा ३ छक्का र ८ चौका सहित ६० रनको योगदान दिएका लिटल एन्जल्सका आयुष गुप्ता म्यान अफ द म्याच घोषित भए ।
सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत बुधबारबाट क्वाटरफाईनलका खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । बुधबार मनकामना मावि र ज्ञान ज्योति मावि, एमईएस र आदर्श तथा साउथ जोन र मुनलाईट बीच खेलहरु हुने प्रवक्ता संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।