बारा,११ माघ । किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आदेशानुसार प्रहरीले उनलाई बीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनीबाट स्वतः निलम्बनमा परेका छन् । ६ नम्बर इजलाशकी न्यायाधीश तारादेवी महर्जनकी आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेर अभियुक्त तीन महिनादेखि फरार रहेका थिए ।
प्रहरीको खोजी सूचीमा रहेका उनी तीन महिनापछि आफैं प्रहरीमा हाजिर भएपछि प्रहरीले नियन्त्रणमा लिएर मुद्दाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।
गत असोज १९ मा छिमेकी एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेर फरार भएको आरोप लागेको थियो । पीडित किशोरीले गत असोज २५ मा इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् ।
उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ मै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजी गर्दै आएको थियो ।