काठमाडौं,२८ माघ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु भएको बताएका छन् । अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिवेश बन्नेसमेत बताए ।
शनिबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको राष्ट्रिय राजनीतिमा आफूहरूको कमजोर अवस्था नरहेको बताए । उनले भने, ‘भर्खरै सुदूरपश्चिमको सरकार ढल्यो । अब नयाँ सरकार बनेको छ । त्यो सरकारमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी छन् । यसले एमालेलाई ठूलो धक्का परेको छ । यस्तो धक्का सुदूरपश्चिमबाट सुरू भएको छ ।’
निर्वाचनमा सोचेजस्तो परिणाम नआएपनि निराश नहुन र हौसलालाई बुलन्द राख्न आफ्ना नेता कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिए । ‘देश नयाँ परिवेशमा पुग्दैछ । अहिले सबैतिर चर्चा छ, राष्ट्रपति पदको । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्’ अध्यक्ष नेपालले भने, ‘उनीहरूलाई दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन ।’