बीरगन्ज,०५ चैत । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका बीरगन्जका दुई खेलाडीलाई बीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।
विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गृहनगर बीरगन्जमा आइतबार आइ पुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख (ओपनर ब्याट्सम्यान) र आसिफ शेख (अलराउण्डर) लाई बीरगन्ज महानगरले भव्य स्वागत गर्दै सम्मान गरेको हो ।
आइतबार बीरगन्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोसल्ला ओढाएर स्वागत र सम्मान गरेका हुन् । मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोसल्ला ओढाएर सम्मानित गरे ।
त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु-याउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई बीरगन्ज महानगरले यहि चैत १७ गते बीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन गर्ने पनि घोषणा गरे ।
उक्त समारोहमै यसअघि बीरगन्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक/एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने उनले बताए । मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ बीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन बीरगन्जवासीसंग आह्वान पनि गरेका छन् ।
आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले बीरगन्जका दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुरयाएर बीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताए । सन्चारकर्मीलाई प्रतिक्रिया दिदै शेखद्वयका बुबा शेख सलामले आफ्ना यी दुवै छोराले देशको नाम अझ उचाईमा पुरयाउदाँ आफु पनि गौरवान्वित भएको प्रतिक्रिया दिए ।
आइतबारको सम्मान कार्यक्रममा वीरगञ्ज महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, सुरेश गुप्ता, जगत साह कानु लगायतको सहभागिता थियो ।