बीरगन्ज महानगरपालिकाकाे वडा नं ११ रानीघाट पुल नजिकैको सेप्टी ट्याङ्की भासिएको छ ।
एसियाली विकाश बैङ्क (एडिबी) को ऋण सहयोगमा पूर्व मेयर विजयकुमार सरावगीको पालामा ट्याङ्की गलत डिजाइन र कमसल सामग्री प्रयोगले निर्माण गरिएका कारण सेप्टी ट्याङ्की भासिए स्थानिय बताउँछन् ।
झन्डै पौने तीन अर्बको लागतमा कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गतको निर्माण गरिएको उक्त संरचना भत्किएको हो ।
एडिबीको ऋण सहयोगमा बीरगन्जलाई डुबानमुक्त बनाउन पूर्व मेयर सरावगीको पालामा निर्माण गरिएको पूर्वाधारहरूले महानगरवासीलाई भने निरन्तर दुःख दिइरहेको छ ।
बीरगन्जवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयास्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पुर्याउन निर्माण गरिएको सेप्टी ट्याङ्की बिहीबार राती भासिएसँगै पुल दक्षिणतर्फबाट हुँदै आएको आउजाउ अवरुद्ध हुन पुगेको छ । छठ पर्वका लागि घाट बनाउने क्रममा राती अचानक ट्याङ्की सहित सडकको संरचना नै भासिन पुगेपछि आउजाउ नै ठप्प बन्न पुगेको छ ।
बीरगन्जवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयास्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पुर्याउन राधेमाई सिर्सिया पुल नजिक र रानीघाट पुल नजिक गरी दुई स्थानमा सेप्टी ट्याङ्की निर्माण गरिएको थियो । रानीघाट पुल दक्षिणतर्फ बनाइएको ट्याङ्कीसहितको सडक संरचना भने बिहीबार राती भासिएको हो ।
गलत डिजाइन र कमसल सामान प्रयोगले निर्माण भएको ३/४ वर्ष बित्न नपाउँदै संरचनाहरू भत्कन थालेको स्थानीय बताउँछन् ।