काठमाडौँ,०८ असाेज । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार बसेको स्थायी कमिटी बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले सरकारलाई समयमै निर्वाचन गराउन आग्रह गर्ने र आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए।
बैठकले जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधर शक्तिसँग संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र मिल्दोजुल्दो शक्तिसँग एकता गर्ने तथा देशभक्त, परिवर्तनकारी दल र सामाजिक सङ्घसंस्थालाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए।
स्थायी कमिटीले बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्दै विशेष महाधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनको मिति भने केन्द्रीय कमिटीले तय गर्नेछ।

