वीरगञ्ज — लगातारको भारी वर्षाले वीरगञ्ज महानगरपालिका क्षेत्रभर बाढी र डुबानको जोखिम अत्यधिक बढेको छ। हिजोदेखि अविरल वर्षा जारी रहँदा मुख्य बजार क्षेत्रदेखि बस्ती र नाली प्रणालीमा पानी जम्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनसम्म वर्षा तीव्र रहने पूर्वानुमान भएकाले महानगरपालिकाले नागरिकहरूलाई उच्च सतर्क रहन आग्रह गरेको छ।
वीरगञ्जका भेडाहा खोला, तिलावे नदी र सिर्सिया नदीमा पानीको सतह लगातार बढ्दै गएको छ। यी नदीहरू आसपासका बस्तीहरू — आदर्शनगर, अशोकवाटिका, घण्टाघर क्षेत्र, इनरुवा, छपकैया, श्रीपुर, र भगवानपुर — सबै बाढी जोखिम क्षेत्रका रूपमा पहिचान गरिएका छन्।
जोखिम बढ्दै गएपछि महानगरपालिकाले नगर प्रहरी, विपद् व्यवस्थापन, स्वास्थ्य, विद्युत् र सरसफाइ टोलीलाई पूर्ण तयारी अवस्थामा राखेको छ। सम्भावित क्षति न्यूनीकरणका लागि जल निकासी मार्गहरू खुला गर्ने, विद्युत् आपूर्तिमा अनियन्त्रित लाइन टुटफुट रोक्ने र आकस्मिक उद्धारका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको महानगरका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए।
महानगरपालिकाले आपतकालीन सम्पर्कका लागि निम्न जिम्मेवार व्यक्तिहरूको नम्बर सार्वजनिक गरेको छः
- नगर प्रहरी: आसिक मियाँ – ९८०४२७७०५५
- विपद् व्यवस्थापन: विभा मिश्र – ९८४५०९५१२१
- पानी निकास: सर्फुदिन मियाँ – ९८१६२८५००५
- विद्युत् व्यवस्था: राजीव उपाध्याय – ९८४९०३५७१५
- स्वास्थ्य सेवा: राजु प्रसाद साह – ९८४५३३१३८१
महानगरपालिकाले नागरिकहरूलाई निम्न सतर्कता मापदण्ड पालना गर्न आग्रह गरेको छः
- निरन्तर वर्षा भइरहेमा अनावश्यक रूपमा घरबाहिर ननिस्कनुहोस्।
- नदी, खोला, नाली र पानी जम्ने स्थानको नजिक नजानुहोस्।
- बालबालिका, वृद्ध र अपाङ्ग व्यक्तिहरूको विशेष हेरचाह गर्नुहोस्।
- विद्युत् र सञ्चार उपकरणहरूलाई सुरक्षित स्थानमा राख्नुहोस्।
- आपतकालीन अवस्थामा तुरुन्त सम्बन्धित जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्नुहोस्।
महानगर प्रमुख विजयकुमार सरावगीका अनुसार, विपद् व्यवस्थापन टोलीहरू उच्च सतर्कतामा छन् र आवश्यकता परेमा प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी पनि गरिएको छ।
महानगरपालिकाले अन्त्यमा सबै नागरिकलाई आग्रह गरेको छ— “सतर्क रहौं, सुरक्षित रहौं। कुनै पनि आपत्कालीन अवस्थाको जानकारी तुरुन्तै महानगरमा दिनुहोस्।”

