वीरगंज, ११ मंसिर – समाजवादी प्रेस संगठन नेपाल, पर्साले प्रदान गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय भएको छ।
समाजवादी प्रेस संगठन नेपाल, पर्साले गठन गरेको पुरस्कार छनौट समितिको आज बसेको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका डेस्क सम्पादक आशु सर्राफलाई प्रदान गर्ने निर्णय गरेको हो।
रु २१ हजार नगद राशीको यो पुरस्कार सर्राफलाई प्रदान गर्ने निर्णय भएको समितिका संयोजक तथा समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए।
आगामी मंसिर १५ गते, वीरगंजमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पुरस्कार वितरण गरिने पनि संयोजक सुमनले बताए।
यसअघि सो पुरस्कारबाट वीरगंजका पत्रकार मनोज पटेल सम्मानित भइसकेका छन्। बिहीबार बसेको छनौट समितिको बैठक संयोजक शम्भु सुमनको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साहको उपस्थिति रहेको थियो।
समाजवादी प्रेस संगठन पर्सा शाखाका कार्यसमिति सदस्य समेत रहेका पत्रकार नरेश सर्राफको २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो।

